कांग्रेसले भन्यो- कोशी प्रदेशको नामकरण साझा सहमतिबाट गरिएको हो



काठमाडौं । नेपाली कांग्रेसले साझा सहमतिबाट कोशी प्रदेशको नामकरण गरिएको बताएको छ बिहीबार नेपाली कांग्रेस कोशी प्रदेशले विज्ञप्ति जारी गरी आन्दोलनरत सबैलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुनेगरी मागहरू राख्न आग्रह गरेको हो ।

प्रदेश सभापति उद्धव थापाले जारी गरेको विज्ञप्तिमा अन्य ६ वटा प्रदेशको नामाकरण भइसकेको अवस्थामा राख्नैपर्ने भएर कोशी नामकरण गरिएको उल्लेख छ ।


विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालिन प्रदेश नम्बर १ ले नाम राख्न सकिरहेको थिएन । नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो।’

कांग्रेसले कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरूलाई यथासक्य सम्बोधन गर्न समेत आग्रह गरेको छ ।