अर्थतन्त्रका समस्या र चुनौतीसँग सरकार बेखबर देखेँ : विष्णु पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र मन्दीमा गएको तथ्य लुकाउन खोजिएको आरोप लगाएका छन् । आइतबार संसद्मा भएको प्री–बजेट छलफलमा भाग लिँदै पौडेलले यस्तो आरोप लगाएका हुन् ।

उनले मन्दीको तथ्यलाई नलुकाइकन स्वीकारेर जानुपर्ने बताएका छन् । ‘यसलाई लुकाउने होइन, स्वीकारेर जानुपर्छ । स्वीकारेर बजेटको तयारी गर्नुपर्छ । म अर्थमन्त्रीलाई त्यही सुझाव राख्न चाहन्छु,’ उनले भने ।


उनले सरकार अर्थतन्त्रका समस्या र चुनौतीसँग बेखबर रहेकोसमेत आरोप लगाए । ‘निःसन्देह नेपाली अर्थतन्त्र मन्दीमा गएको छ तथ्यलाई स्वीकार्दै बजेट प्रस्तुत हुनुपर्छ । तर, दुःखको कुरा भन्नुपर्छ । सरकार यसबारे बेखबर देखेँ,’ पौडेलले भने ।

पौडेलले सत्ता गठबन्धनका हिजो र आजका नीतिहरूले मुलुक यस अवस्थामा आइपुगेको आरोप लगाए । ‘यसलाई स्वीकारेर जानुपर्छ । बजेटका सिद्धान्त र प्राथमिकता पनि यही आलोकमा आउनुपर्छ । विनियोजन विधेयकमा सामान्य खालका शब्दावलीहरू प्रयोग गरिएका छन् । तर, हाम्रो अवस्थाचाहिँ त्यस्तो होइन,’ उनले भने ।