पैसा बाँडेर निर्वाचन जित्ने दल र उम्मेदवार भएसम्म भ्रष्टाचार रोकिँदैन : प्रेम सुवाल



काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पैसा बाँडेर निर्वाचन जित्ने दल र उम्मेदवार भएसम्म भ्रष्टाचार नरोकिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पैसा बाँडेर, भोजभतेर खुवाएर निर्वाचन जित्ने दल र उम्मेदवार भएसम्म र मन्त्री बन्न करोडौँ घुस बुझाउनुपर्ने अवस्था भएसम्म भ्रष्टाचार नरोकिने उनले बताए । सुवालले भने, ‘सामान र पैसा बाँडेर, भोजभतेर खुवाएर निर्वाचन जित्ने दल र उम्मेदवार भएसम्म, मन्त्री बन्न नेतालाई करोडौँ घुस बुझाउनुपर्ने अवस्था भएसम्म भ्रष्टाचार रोकिने छैन ।’


नेपालमा राष्ट्रपति र प्रधानमन्त्री भएका कुनै पनि व्यक्तिलाई भ्रष्टाचार आरोपमा हतकडी नलगाउँदा भ्रष्टाचार बढेको उनको तर्क थियो । उनले भने, ‘अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर छलिमा कारबाही भयो, हतकडी लगाइयो । नेपालमा राष्ट्रपति र प्रधानमन्त्री भएकाहरू कसैलाई पनि भ्रष्टाचारको आरोपमा हतकडी लगाइएको छैन । यसकारण भ्रष्टाचार बढ्यो ।’

भ्रष्टाचार रोक्न नेपालीको सम्पत्तिको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्ने व्यवस्था गर्नुपर्ने उनले बताए । उनले भने, ‘व्यक्तिगत सम्पत्ति कुम्ल्याउने होडबाजीले भ्रष्टाचारलाई मलजल गरिरहेको छ  । नेपालीको सम्पत्तिको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्ने व्यवस्था भएसम्म भ्रष्टाचार रोकिने छैन ।’

त्यस्तै भ्रष्टाचार रोक्न पूर्व र पश्चिम घरबास भएका कर्मचारीलाई काठमाडौंमा काजमा र सरुवा गर्न बन्द गर्नुपर्ने बताए ।विदेशबाट दैनिक उपभोग्य सामान नरोकेसम्म भ्रष्टाचार नरोकिने उनको दाबी थियो ।

भ्रष्टाचार रोक्न अख्तियार र केन्द्र सम्पत्ति शुद्धिकरण केन्द्रलगायतमा अलग्गै कर्मचारी व्यवस्था गर्नुपर्ने उनले बताए ।