सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौँ । सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौँको गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ ।


वैदेशिक रोजगारीको लागि सिंगापुर पठाई होटेलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बबरमहलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ  ।