सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै



काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । 

तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई थप परिमार्जन गरेर सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारे अनुसार ९ वटा बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमबारे पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनको बैठक बसेर आज अन्तिम रुप दिइनेछ ।  आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

नेपाली कांग्रेसका चुनावी अजेन्डालाई प्राथमिकतामा राखेर परिमार्जित नीति तथा कार्यक्रम बनाईएको बुझिएको छ ।