वनस्पति उद्यान तथा अनुसन्धानमा पर्यटकको आकर्षण



ललितपुर । गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । उद्यानको छेउबाटै बग्दै गरेको खोलाको मूलसंँगैको वन क्षेत्र, चराचुरुङ्गीको मधुर आवाज तथा शान्त वातावरणले झनै आकर्षण बनाएको यस केन्द्रमा स्वदेशी तथा विदेशी पर्यटक दिनहुँ सयौँको संख्यामा आउने गर्दछ्न ।

समुद्रिक सतहदेखि एक हजार ४८० देखि दुई हजार मिटरको उचाइमा रहेको काठमाडौँ उपत्यकाको दुई हजार सात सय २७ मिटर अग्लो फुल्चोकी डाँडाको फेदैमा अवस्थित यस केन्द्र काठमाडौँबाट १६ किमी दक्षिण पूर्वमा पर्दछ । यो नेपालकै सबैभन्दा ठूलो र पुरानो वनस्पति उद्यान पनि हो ।


केन्द्रका वरिष्ठ अधिकृत दीपक लामिछानेका अनुसार बेलायती आर्किटेक्ट जियाफ्रो हर्कलट्स र टोनी सिलिङ्गद्वारा डिजाइन गरिएको यस वनस्पति उद्यान नेपालको प्रमुख वनस्पती संरक्षण, शिक्षा, अनुसन्धान, प्रदर्शन तथा मनोरञ्जनको केन्द्रका रुपमा परिचित छ ।

विसं २०१९ सालमा तत्कालीन राजा महेन्द्रबाट उद्घाटन गरिएको यस उद्यानको २०६३ असार १९ गते वनस्पति उद्यानका रुपमा नामकरण गरिएको थियो । विभिन्न प्रजातिका जीवित वनस्पतिहरुको सङ्कलन गरी संरक्षण गर्ने, अनुसन्धान गर्ने, प्रविधिमा विकास गर्ने, अन्य वनस्पति उद्यानहरुसँग वनस्पति तथा ज्ञानको आदानप्रदान गर्ने देशका विभिन्न स्थानबाट रैथाने, दुर्लभ तथा संकटापन्न वनस्पतिहरुको अध्ययन तथा जर्मलाज्म संकलन गरी संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

यहाँ विशेष गरी चिलाउने, कटुस, लालीगुराँस उत्तीसका रुखहरु तथा फुल्ने र नफुल्ने वनस्पति पाइन्छ । यस उद्यानमा आर्बाेरेटम, जैविक विविधता शिक्षा बाटिका, उन्युँ बाटिका, जडीबुटी बाटिका, बिरुवा प्रजनन् घर, मौसमी फूल बिरुवाको प्लट, उष्ण प्रदेशीय घर, श्रीपेच पोखरी तथा अति विशिष्ठ महानुभावहरुको वृक्षारोपण क्षेत्र नेपालेन्सिस जस्त ३० वटा विभिन्न विषयगत बाटिकाहरु रहेका छन् ।

वनस्पति विभाग तथा वनस्पति अनुसन्धानका महानिर्देशक डा. राधा वाग्ले केन्द्रलाई अन्तर्राष्ट्रियस्तरमा अध्ययन अनुसन्धान थलोको रुपमा विकास गर्न लागिएको बताउँछन् । एन्जियोस्पम्र्स, टेरिडोफाइट्स र ब्रायोफाइट्ससहित एकहजार भन्दा बढी वनस्प्ती प्रजातिहरु संरक्षित रहको यस उद्यान सन् २०१५ देखि बोटानिक गार्डेन्स कन्जर्भेशनको सदस्य बनेको छ । उनका अनुसार उद्यान अन्तर्राष्ट्रिय गाार्डेनको सूचीमा परेको छ ।

अधिकृत लामिछानेका अनुसार करीव १५० प्रजातिका औषधिजन्य वनस्पति, ५० प्रजातिका सिउँडी र रसिला वन, ३५ प्रजातिका आरोही तथा ६० प्रजातिका सुनाखरी आदि १०३६ प्रजातीका वनस्पतिहरु संरक्षण गरिरहेको छ । त्यस्तै उद्यान भित्र दुई सय ९० प्रजातिका चरा, दुई सय ५० प्रजातिका पुतली, पाँचसय ७५ प्रजातिका फूल तथा वसन्त ऋतुमा फूल्ने रातो पुवाले, काइयो, लालीगुराँस चुत्रोसहित अनगिन्ती फुल्ने नफुल्ने वनस्पति तथा जडिवुटीहरु संरक्षित छन् ।