बेवारिसे गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ



काठमाडौं । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छाको संरक्षणका लागि सबैको सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो ।

यही वैशाख २२ देखि २८ गतेसम्म गोरक्ष महायज्ञ गरिने कार्यक्रम रहेको महायज्ञका संयोजक उत्तम पुडासैनीले जानकारी दिए । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि पहिलोपटक यस्तो महायज्ञ गर्न लागिएको र महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्ने भएका छन् ।


गाईबाछा संरक्षण अभियानअन्तर्गत दुई सय बेवारिसे गाईबाच्छाले आश्रय पाएकामा तिनलाई सहयोग गर्नेको सङ्ख्या पनि अहिले बढ्न थालेको र यस अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ । यसै क्रममा गोरक्ष महायज्ञ गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

त्यस्ता गाईबाच्छा संरक्षणका लागि नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको जनाइएको छ । वैशाख २२ गते उपराष्ट्रपति रामसहायप्रसाद यादवले महायज्ञ शुभारम्भ गर्ने जनाइएको छ । अभियानले २०७५ जेठ १ गतेदेखि बेवारिसे गाईबाच्छा संरक्षणका लागि अभियान चलाउँदै आएको छ ।