नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ



दमौली । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए ।

नयाँ वर्षका अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पनि यहाँ पर्यटक तानिएका हुन् । ‘हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्,’ पौडेलले भने, ‘दिउँसैदेखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको सङ्ख्या अधिक थियो ।’ हेरिटेज होटलका सञ्चालक किसान प्रधानले नयाँ वर्षमा बन्दीपुर पर्यटकले भरिएको जानकारी दिए ।


‘बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिएको सडक खाना महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ’, उनले भने । आज नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले थप पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उनले बताए । ‘बिदामा घुम्ने संस्कृति विकास भएकाले पनि आज थप पर्यटक बन्दीपुर आउने आशामा छौँ’, उनले भने । बन्दीपुरका होटल व्यवसायीले आज होटलमा आउने पहिलो पाहुनालाई एउटा कोठा रु एकमा उपलब्ध गराउनेछन् । ‘सुस्ताएको बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि यो प्याकेज ल्याएका हाैं, होटेलमै आएर कोठा बुक गर्दा पर्यटकले रु एकमा कोठा पाउँछन्, प्रधानले भने, ‘त्यसका लागि होटलमै खाना, ब्रेकफास्ट गर्नुपर्छ ।’

कोठाको रु एक भए पनि खानालगायत अन्य सुविधाको भने मूल्यसूचीअनुसारको पैसा लाग्ने प्रधानले बताए । बन्दीपुरमा क्षेत्रीय होटल सङ्घसँग आबद्ध ६६ वटा होटल छन् । त्यसमध्ये केही होटेलले यो प्याकेज ल्याएका छन् । बन्दीपुर हिमालय दरबारका सञ्चालक वैश गुरुङले सङ्घमा आबद्ध सबैमा यो प्याकेज नभए पनि धेरैजसो होटलमा एउटा कोठा रु एकमा उपलब्ध गराउने निर्णय भएको बताए ।

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको छ । ‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गरिएको जनाइएको छ । सडक खाना महोत्सवका अवसरमा बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् ।

साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ । नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होमस्टे सञ्चालक राजु बानियाँले बताए ।