सम्पादकीय : नयाँ वर्ष २०८० सकारात्मक जागरणको अवसर बन्न सकोस, शुभकामना !



बिक्रम सम्वत २०८० को शुभारम्भका अवसरमा समस्त पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी र शुभेच्छुकहरुमा एक्स्क्लुसिभ न्यूज टाईम डट कम परिवारको तर्फबाट सुस्वास्थ्य, सुख, सम्वृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्इक्त गर्दछौं । सकिएको वर्ष २०७९ का सारा दुर्वल पक्ष, नकारात्मक परिवेश समुल अन्त्य गर्न सुरु भएको वर्ष २०८० सफल रहोस । सबैमा मंगल कामना गर्दछौं ।

हरेक वर्ष फेरिने ऋतुसंगै वर्ष फेरिनु र नयाँ साल आउनु एउटा सामयिक प्राकृतिक निरन्तरता भए पनि यसलाई सार्थक बनाउने प्रयाशमा हामी नयाँ वर्षलाई एउटा नयाँ अवसरका रुपमा ग्रहण गर्दछौं । बिक्रम सम्वतको नयाँ वर्ष २०८० अर्थात नेपाली मात्रको नयाँ वर्ष समस्यालाई समाधानमा बदल्ने, संकटलाई अवसर बनाउने र असफलतालाई सफलतामा रुपान्तरण गर्न सक्ने अवसर बनोस ।


बर्षान्त २०७९ नेपालीका लागि सुखद रहेन । आर्थिक मन्दीको चरम चपेटामा पर्न वाध्य भएको नागरिक जीवन अझैं संघर्षको चरणमा नै छ । यस अघि कोभिड १९ ले थिलथिलो पारेको नागरिक जीवन र अर्थतन्त्रका वीच जेनतेन नागरिकले जीवन धान्न मात्र सके । युक्रेन युद्धका बाछिटाले नेपाली अर्थतन्त्रलाई दिएको अदृश्य झट्काले पनि नागरिकलाई थप झन्झट दियो । विश्वव्यापी आएको स्वास्थ्य महासंकट र आर्थिक मन्दीको चपेटाले नेपाल र नेपालीहरु मात्र अछुतो रहन सम्भव थिएन,त्यसलाई थेग्न र झेल्न सिंगै देश लाग्न विवश भयो ।

क्यालेण्डर फेरिदैमा समस्याका पहाड फेरिएका छैन्न, तर समस्याको चुरो पत्ता लगाएर समाधानको मार्गचित्र खोज्ने र रोज्ने नयाँ प्रेरणा र हौसलाको सुखद अवसर अवश्य हो नयाँ वर्ष २०८० । त्यसैले नयाँ वर्षमा हर जनमनले आआफ्नो तहबाट नयाँ जोश जाँगर र उत्साहका साथ नयाँ सुखद संभावनाको खोज ीगर्ने उर्जा र हौसला प्राप्त गर्न सकून भन्ने हाम्रो मंगल कामना छ ।

देशको राजनीति जनमुखी, स्थिर र ईमान्दार नभएसम्म देशवासीले सुखानुभू ितगर्न सम्भव छैन । वर्ष २०७९ मा देशले आवधिक चुनावहरु सम्पन्न गरेर तीनै तहमा नयाँ सरकारहरु पाएको छ । जनादेशको जगमा बनेका नयाँ सरकारहरु अब जनताका संकटका सारथि बन्न प्रतिवद्ध हुन सकून । नयाँ वर्षले स्थानीय, प्रदेश र केन्द्र सरकारलाई जनमुखी हुन प्रेरण दिन सकोस । हाम्रो कामना छ ।

जनताले जित्ने वर्ष बनोस २०८० । जनताले हाँस्ने, रम्ने र जम्ने अवसर बनोस २०८० । विश्वव्यापी परेको स्वास्स्थय महासंकटमा पूर्ण बिराम लागोस । आर्थिक मन्दीका काला बादलहरु फाट्न सकून । रोजगारीका अवसरहरु बढून । देशभर र विश्वमा नै शान्तिको नयाँ लहर सुरु हुन सकोस ।

जनताले आफ्नो अधिकार जनप्रतिनिधि मार्फत प्रयोग पाउने वातावरण सुनिश्चित हुन सकोस । भ्रष्टाचारको महारोगको अन्त्य होस । शुसासन र विकासको नयाँ चरणमा देश जान सकोस । सधै भएन, हुन सकेन भन्दै बितेका समयहरु २०८० देखि सकारात्मक जागरणको अवसर बन्न सकोस । हामी सबैको सबैमा हार्दिक शुभकामना ।