काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको छ । आज (बुधबार) काठमाडौँमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति चुनावमा भाग नलिने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उनीहरूबाट निष्पक्ष र राष्ट्रको अभिभावकीय भूमिका निर्वाह नहुने देखेपछि चुनावमा तटस्थ बस्न उपयुक्त हुने निष्कर्ष निकालेको बताए ।
अध्यक्ष लिङ्देनले भने, ‘हामीले सर्वसम्मत ढङ्गले राष्ट्रपतिको चुनावमा सहभागी नहुने निर्णय गरेका छौँ । राष्ट्रपतिलाई संविधानले संवैधानिक वा सेरेमोनियल संस्था, राष्ट्रको अभिभावकीय, निष्पक्ष संस्थाको रूपमा परिकल्पना गरेको छ । अहिले उम्मेदवार बन्नु भएका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहनु भएको, दुवै जना भर्खरै एक-एक वटा राजनीतिक पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको व्यक्तित्व हुनुहुन्छ । उहाँहरूबाट त्यो अभिभावकीय भूमिका र त्यो निष्पक्षताको हामीले परिकल्पना गर्न सक्दैनौं । त्यस कारण चुनावमा हामी तटस्थ बस्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेका हौँ ।’
भोलि (बिहीबार) राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावका लागि नौ दलको तर्फबाट साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि आवश्यक सबै तयारी पुरा भएको जनाएको छ ।