त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयद्वारा चार करोडका सामग्री लिलाम



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले करिब चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट  तीन करोड ८९ लाख ८१ हजार पाँच सय ५७ राजस्व संकलन गरेको हो ।

कार्यालयलाई तीन सय ३२ थान मोबाइल लिलाम बिक्रीबाट एक करोड ७३ लाख २६ हजार सात सय चार राजस्व प्राप्त भएको छ । यी मोबाइल विदेशबाट फर्किने यात्रुसँग जफत गरिएको हो । यस्तै दुई हजार पाँच सय पाँच थान मदिरा लिलाम बिक्रीबाट कार्यालयले एक करोड पाँच लाख ८६ हजार छ सय ९७ बराबर राजस्व सङ्कलन भएको जनाएको छ ।


सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिकलगायतका मालवस्तु लिलाम बिक्रीबाट एक करोड १० लाख ६८ हजार एक सय ५६ कलन भएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिए ।

उनका अनुसार कानुनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन ।

कानूनले तोकेभन्दा बढी सङ्ख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ । कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङलगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ ।