भ्याटिकन सिटी । पोप फ्रान्सिसले श्वासप्रश्वासको सङ्क्रमणका कारण एक रात अस्पतालमा बिताएपछि उनको स्वास्थ्यमा सुधार भइरहेको भ्याटिकनले बिहीबार जानकारी दिएको छ । ‘पोपले ‘रातको समयमा राम्ररी आराम गरेका छन् । उनको क्लिनिकल अनुसन्धानले क्रमिक सुधार भइरहेको देखाएको छ ।
उनले आफ्नो पूर्ववतरूपमा दिइएको चिकित्सकको सुझाब अनुसार योजनाबद्ध रूपमा उपचार जारी राख्नुभएको छ,’ प्रवक्ता माटेओ ब्रुनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान नास्ता पछि, उनले केही पत्रिकाहरू पढे र फेरि काम गर्न थाले । लन्च अघि, उनी निजी (अस्पताल) अपार्टमेन्टको सानो चैपलमा गई प्रार्थना गरे र भोजन (प्रसाद) लिए ।
पोप फ्रान्सिसलाई पूर्वनियोजित जाँचका लागि बुधबार रोमको जेमेली अस्पतालमा भर्ना गरिएको भ्याटिकनले जनाएको छ । उहाँले श्वासप्रश्वासमा समस्या भएको बताएपछि भर्ना गरिएको र उहाँलाई श्वासप्रश्वासमा सङ्क्रमण भएको पत्ता लागेको छ । समस्या कोभिडसँग सम्बन्धित नरहेको भएपनि उहाँलाई ‘केही दिन’ अस्पतालमा उपचारको आवश्यकता छ ।
यसै महिनाको सुरुमा क्याथोलिक चर्चको प्रमुखको रूपमा १० वर्ष पूरा गरेका अर्जेन्टिनी धर्मगुरुले जीवनभर धेरै स्वास्थ्य समस्याहरू भागेका छन् । उनको २१ वर्षको उमेरमा फोक्सोको एउटा भागको उपचार गरिएको थियो । व्यस्त तालिका र व्यापक यात्रा गर्दै गर्दा, उनले विगत एक वर्षदेखि घुँडाको दुखाइको कारण ह्वीलचेयर प्रयोग गर्दै आएका छन् ।