‘सेवा निवृत्त न्यायाधीश राष्ट्रपति-उपराष्ट्रपति बन्न सक्छन्’ – न्यायाधीश समाज



काठमाडौँ । न्यायाधीश समाजले पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने बताएको छ ।

समाजका अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले बिहीबार विज्ञप्ति जारी गरी संविधानले पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न बन्देज नलगाएको बताएका हुन् ।


समाजले निर्वाचनबाट परिपूर्ति गरिने पदमा सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशहरु योग्य हुँदैनन् भनी गरिएको दाबी र छलफलमा आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित सम्बन्धि ऐन, २०७४ को दफा १२ लगायतका कुनै पनि कानुनले सर्वोच्च अदालतबाट सेवा निवृत्त प्रधान न्यायाधीश वा न्यायाधीश उक्त पदको निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने गरी कुनै व्यवस्था गरेको देखिदैन । निर्वाचन सम्बन्धि कार्यतालिकाको अधिनमा रहेर परेका उम्मेदवारी संविधान वा कानुनसम्मत रहे वा नरहेको कुराको निरुपण पनि निर्वाचन प्रक्रिया अन्तर्गत नै हुनेछ। यस्ता कानूनी प्रक्रियाहरु कायम छँदाछँदै हतारोमा, असान्दर्भिक र अनायास तबरबाट प्रतिकुल धारणाहरु सार्वजनिक हुनु रहस्यमय छ भन्ने पनि हामीलाई लागेको छ।’

संवैधानिक प्रक्रियाविपरित सर्वसाधारणमा अनावश्यक भ्रम पैदा हुनेगरी नेपालको राष्ट्रपति तथा उपराष्ट्रपति पदको आसन्न निर्वाचनको पूर्व सन्ध्यामा गरिएको गरिएका पूर्व न्यायाधीशहरुप्रतिको असान्दर्भिक चर्चा, अमर्यादित टिका टिप्पणी तथा योग्यता सम्बन्धमा अगाडी सारिएका आग्रह र पूर्वाग्रहपूर्ण दृष्टिकोणप्रति न्यायाधीश समाजले असहमति र आपत्ति प्रकट गरेको छ।