प्रदेश सञ्चार ऐन छिट्टै आउँछ : मुख्यमन्त्री कार्की



विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार ऐन छिट्टै आउने बताएका छन् ।  

प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा उनले सञ्चार क्षेत्रको हक, हित र अधिकारका लागि सञ्चार ऐनको मैस्यौदा तयार भइसकेको बताए ।


उनले प्रेस र पत्रकारिताको भूमिका व्यवस्थित गर्न ऐन र कानुनबाट सञ्चार प्रतिष्ठान गठन गर्ने भनाइ राखे। उनले प्रदेशको नाम सकेसम्म सहमतिबाट नामकरण गर्ने र त्यो सम्भव नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउने स्पष्ट पारे।

कामको बोँझ नथपिएसम्म प्रदेश सरकारले मन्त्रिपरिषद् बिस्तार नगर्ने उनको भनाइ छ । गठबन्धनबाट बनेको यो सरकारले छिट्टै गति लिनेमा उनको विश्वास व्यक्त गरे। 

उक्त अवसरमा २ जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा ११ हजार १ सय राशिको कृष्णप्रसाद सिग्देल स्मृति पुरस्कारबाट पत्रकार दिनेश सुब्बा र १५ हजार ५ सय राशिको जनार्दन मैनाली स्मृति पुरस्कारबाट पत्रकार तेजेन्द्र भण्डारीले पुरस्कृत भएका छन् । 

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री जीवन घिमिरेले पत्रकारले व्यावसायिक मर्म र धर्मलाई स्थापित गर्नुपर्ने बताए। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले समाजलाई सुसूचित गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिए।