प्रेम दिवसमा सौराहामा खाना महोत्सव हुने



भरतपुर । पर्यटकीय नगरी चितवनको सौराहामा प्रेम दिवसको अवसर पारेर ‘खाना महोत्सव’ हुने भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान) सौराहाले १७औँ खाना महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव यही माघ २९ देखि आगामी फागुन २ गतेसम्म सौराहाको सडकमा नै सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय तथा विदेशी खानाका परिकारसँगै स्थानीय कला, संस्कृति, वेषभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाइने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक गिरीले बताए ।


महोत्सवअन्तर्गत कार्यक्रमस्थल हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । यस्तै हरेक दिन बेलुका जनजातिको कला तथा संस्कृतिसहितको प्रदर्शनसमेत गरिनेछ ।

महोत्सव अवधिभर दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने र सौराहामा रु तीन करोडको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवअन्तर्गत उज्यालो सौराहा, शैक्षिक विपन्न कोषमार्फत विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउने र वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले प्लाष्टिकजन्य पदार्थ न्यूनीकरणलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको आयोजनामा हुने महोत्सवमा रेवान महिला समूह, क्षेत्रीय होटल सङ्घ चितवन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र साना पर्यटन व्यवसायी संस्था सहआयोजकका रुपमा रहेका छन् । महोत्सवमा नेपाल पर्यटन बोर्ड, बागमती प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र रत्ननगर नगरपालिकाले सहकार्य गरेका छन् ।