प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश



काठमाडाैँ । संसद्मा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका अध्यक्ष चित्रबहादुर केसीले सो प्रतिवेदन पेश गरे ।

प्रतिनिधिसभाले बैठकको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि २१ सदस्य रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । समितिलाई १५ दिनको समयवधि तोकिएको थियो । समितिले गत माघ ११ गते नियमावली मस्यौदालाई अगाडि बढाउने सम्बन्धमा अन्तरसंवाद गरेको थियो । समितिको पहिलो बैठक माघ १३ गते बसेको थियो ।


समितिमा सांसद अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाधर चौधरी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवास नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही सदस्य थिए ।