सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच मनाइयो सेना दिवस (फोटो फिचर)



काठमाडौँ । नेपाली सेनाले सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ ।

नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६० औँ स्थापना दिवस मनाएको हो । सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतमन्त्री र सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।


महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेको थियो । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ ।