कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता



काठमाडौँ । संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो ।

यसअघि कांग्रेसले संसद सचिवालयमा पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै आलोचना भएको थियो ।


तर संसद् सचिवालयले पठाएको पत्रमा भने कांग्रेसलाई विपक्षी दलको सेवासुविधा उपलब्ध हुने उल्लेख छ । पुस २६ गते प्रतिनिधिसभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए। सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दल बन्ने आधार नरहेको भन्दै सदन र सदन बाहिर प्रश्न उठाइएको थियो ।