सोलुखुम्बुका अधिकांश पसलमा छैन मूल्यसूची



सोलुखुम्बु । सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल/पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीविना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् ।

यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्योग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल, होटललगायतलाई वितरण गर्नुपर्ने भए पनि सङ्घ निस्क्रय हुँदा मूल्यसूची कायम गर्न सकिएको छैन ।


सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलमा विनामूल्यसूची खाद्यन्न तथा अन्य सामग्री बिक्री भइरहेका छन् । ग्रामीण भेगका सबै पसलमा मनोमानीरुपमा सामग्री बिक्री भइरहेका छन् । एउटै सामानको मूल्य पसलैपिच्छे फरक पाइएको उपभोक्ताको गुनासो छ । खाद्यन्नदेखि अन्य सामग्रीको मूल्य घटबढ भइरहन्छ । मूल्य सूची कायम गराउने सवालमा उद्योग वाणिज्य सङ्घ निरीह हुँदा उपभोक्ता ठगिन बाध्य छन् ।

लामो समयदेखि मूल्यसूची कायम गर्न नसकिएको सङ्घका सहसचिव महेश खालिङ राईले स्वीकार गरे । सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दूधकोसी, नेचा सल्यान, दूधकोसी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रका पसल तथा होटलमा पनि मूल्यसूची नभएको पाइएको छ । बजार अनुगमन गर्दा होटल तथा पसलमा मूल्यसूची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताइन् ।