संघीयताविरोधी अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टिकरण साेध्ने प्रधानमन्त्रीको चेतावनी



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आज (मंगलबार) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

‘मैले प्रत्यक्ष हेरेको वा थाहा पाएको हैन, माननीय ज्यूहरूले प्रश्न उठाउनु भयो । मेरै क्याबिनेटको मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नु भएको कुरा यहाँ आएर थाहा भयो । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ’, उनले भने ।


‘संघीयता खारेज गर्नुपर्‍यो भन्ने कुरा मन्त्रीले उठायो र सांसद्ले उठाउनु भयो यो स्पष्टीकरणको विषय हुन्छ । मन्त्रिपरिषदभित्र रहेर संघीयता र लोकतन्त्रविरुद्ध अभिव्यक्ति दिन मिल्दैन’ प्रधानमन्त्री दाहालले भने, ‘सांसदहरू वा बाहिर रहेकाहरूलाई आफ्ना धारणा राख्न पाइन्छ तर मन्त्रिपरिषद्भित्र रहेर त्यो गर्न पाइँदैन । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा स्पष्टीकरणको विषय हुन्छ ।’