बागलुङ । बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण भएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच पुल निर्माण भएका हुन् ।
गत वर्ष निर्माण सम्पन्न गर्नेगरी जिल्लाभरि ३३ झोलुङ्गे पुलको सर्वे भएको थियो । सर्वे भएकामध्ये १० झोलुङ्गे पुलको मात्रै निर्माण सम्पन्न भएको विवाइसीका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिए ।
ढोरपाटन–२ सिमलचौर, ढोरपाटन–७ का पँधेरी र ढोरपाटन–९ को रासीबाङ्ग, बरेङ–२ को काउला, बरेङ–१ को दोभानखोला, ताराखोला–२ को दोभान, ताराखोला–३ को निस्दीखोला, ताराखोला–३ को सादी, ताराखोला–४ को दोगाडी र ताराखोला–५ को मैन पकाउने घाट खोलामा पुल निर्माण गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्ने गरेका छन् । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौताअनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाइ (टिविएसयु) र पिटिएपी पोखराले प्राविधिक सहयोग गर्दै आएको केसीले जानकारी दिए ।
टिविएसयुले पुलको लठ्ठा, फलामे सामग्रीको व्यवस्थापन र वितरणमा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने गरेको छ । कार्यक्रम संयोजक केसीका अनुसार एक सय २० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामा पुल निर्माण व्यवसासायीमार्फत बनाउने गरिएको छ । झोलुङ्गे पुलको परिचय बनाएको बागलुङमा थप पुल बनेपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ ।
सङ्घीय सरकारले पुल निर्माणका लागि सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । कूल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र दुई प्रतिशत जनश्रमदान गरी झोलुङ्गे पुल निर्माण भइरहेको केसीले जानकारी दिए ।
जिल्लामा पुल रणनीति २०६२ अनुसार निर्माणको काम भइरहेको छ । विसं २०७६ भदौसम्म जिल्लाभर चार सय ५३ पुल बनिसकेको तथ्याङ्क छ भने बितेको दुई वर्षमा ३३ पुल निर्माणाधीनमध्ये १० निर्माण सम्पन्न भइसकेका छन् । चालु आर्थिक वर्षमा २५ पुल निर्माण गरिने कार्यक्रम संयोजक केसीको भनाइ छ । सबै पुलको गत वर्ष सर्वे गरिएको थियो ।
चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई, काठेखोलामा तीन, ताराखोलामा तीन, निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा सात र जैमिनी नगरपालिकामा पाँच पुल निर्माण हुनेछन् ।