योग : जीवन सफल बनाउने सूत्र



काठमाडौँ।  भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार। जीवन नभए संसारै शून्य। यो भनाइलाई सत्य मान्ने हो भने संसारमा मानिस जीवित रहन पहिले जीवनलाई बचाउन जरुरी हुन्छ। यो भनेको आफू संसारमा जीवित रहनका लागि जीउने जीवन पद्धति जान्नुपर्छ, बुझनुपर्छ।

सुत्ने, उठ्ने र खाने तरिका ठीक हुनुपर्छ। सकारात्मक सोच बनाउनुपर्छ। अनिमात्र मानिस निरोगी र दीर्घजीवी हुनसक्छ। यसो हुन अहिलेको युगमा रामदेव बाबा, हरिजी माहाराज, भानु शर्मा र रमेश नेपाल समेतलाई सम्झेर उनीहरुको जीवन पद्धति अनुशरण गर्न जरुरी छ। यसो गर्न सकेमात्र मानिस निरोगी र दीर्घजीवी हुन सक्छ र यसैमा खुसी र सुखी दुवै हुन सकिन्छ। जीवनको अन्तिम सफलता र उपलब्धि पनि यही हो।


मानिस रोगी भएर बाँच्नुको अर्थ छैन। यसरी बाँच्नु भनेको बेकार हुनु हो। यसरी बाँचेका मानिस आफैंँमा र संसारका लागि बोझ मात्र हो। यसरी बाँचिरहेका मानिस खुशी र सुखी हुनै सक्दैनन्। त्यस्तो मानिसको जीवन कदापि सफल हुनै सक्दैन। यिनीहरुले कुनै प्रगति गर्न सक्दैनन्।

आफ्ना लागि आफैं बोझ भएर बाँचेका मानिसले अरुलाई सहयोग गर्ने कुरै भएन। यिनीहरु जति दिन बाँच्छन् अरुको आश, भरोशमा बाँचेका हुन्छन्। यस्ता मानिस बाँचेसम्म जसरी, तसरी बाँच्ने मात्र हो। खुशीसाथ सुखी भएर बाँच्न सम्भव नै हुँदैन। जीवनभरि ऐय ऐय…भनेर बाच्नुपर्ने बाध्यतामै बाँचिरहेका हुन्छन्। यो भनेको यही संसारमा यही जीवनकालमा नर्कमा डुबिरहनु हो। जो आफैं रोगी छ, केही गर्न सक्दैन। सँधै बिमारी भइरहन्छ। कुनै काम गर्न सक्दैन। सधैं डाक्टर र औषधिको प्रयोग गरिरहन्छ, उस्को जीवन के जीवन ? यस्तो जीवन बिताउनु परेमा बुझ्नुहोस् नर्कको जीवन बिताइरहेको भन्नै पर्छ।

जो मानिस सँधै निरोगी छ। सधैँ हँसिलो रसिलो छ। जुनसुकै काम, जतिबेला पनि गर्न सक्छ। आफ्नो काम आफैँ गर्न सक्षम छ। परेका बेलामा अरुलाई पनि सहयोग गर्न सक्षम छ भने त्यो मानिस सबैका लागि प्रेरणाको स्रोत बन्छ। यस्ता मानिस आफ्ना लागि र अरुका लागि पनि खुसी, र सुखीको थलो सधैँ भइरहन्छ । यो भनेको ऊ सधैँ स्वर्गमा नै रहेको हुन्छ। यस्तो हुन जीवन जीउन जान्नुपर्छ। अनि मात्र खुसी र सुखी हुन सकिन्छ।

खुसी र सुखी हुने सूत्र :

यसो हुन सर्बप्रथम हरेक मानिसले आफ्नो जीवनचक्र बुझ्न जरुरी हुन्छ । यो भनेको मानिसको लागि यो संसारमा सँधै एकनास हुँदैन। बच्चा, जवान, बुढो हुने जीवनचक्र हो। सधैँ कोही बाँच्दैन। चाहे कोही कति नै धनी, विद्धान वा राजा र मन्त्री नै किन नहोस्। यसो भएकाले सबैका लागि मृत्यु अनिवार्य छ। मोटो– पातलो, रोगी–निरोगी, धनी–गरिब, ठूलो–सानो सबैले एकदिन मृत्युवरण गरेर यो संसारबाट बिदा हुनै पर्छ।

यो अकाट्य सत्य हो। केवल कुन दिन को मर्छ यो भने कसैलाई थाहा हँदैन। यो थाहा पाउन जरुरी पनि छैन। केबल म मर्छु भनेर हरेकले बेलैमा बुझेर सोहीअनुसार काम गर्नसके सजिलै जीवन सफल बनाउन सकिन्छ।

यो भनेको फेरि पनि जीवनलाई बेलैमा बुझेर खुसी र सुखी हुनु नै हो। यसो हुन अरुले केही गर्नै पर्दैन। आफैँ हुन सकिन्छ। यसो हुन बुढो हुन पनि पर्दैन। जीवनको महत्व बुझेर बेलैमा वा उमेर छँदै सजिलै हुन सकिन्छ। यसो हुन कुनै खर्च गर्न पर्दैन। धेरै पैसाको पनि जरुरी पर्दैन। केवल सहीजीउने जीवन पद्धति बेलैमा जाने पुग्छ। यसका लागि सही र सकारात्मक सोच हुन मात्र जरुरी पर्छ।

योग के हो र कसरी गर्ने ?

योग एकदमै सजिलो र सस्तो उपाए हो एकरात दिनमा २४ घन्टा हुन्छ। जतिसुकै काम गरे पनि, जस्तोसुकै व्यस्त भए पनि २४ घन्टामा बढीमा एक घन्टा मात्र समय आफ्नो स्वास्थ्यका लागि दिए पुग्छ। यति समय आफ्ना लागि नदिएर काम गरेर कमाउनु भनेको कस्तो कमाउने हो र के का लागि कमाउनु हो ? यसो गर्नु भनेको फेरि पनि जीवनको सही अर्थ नबुझ्नु नै हो।

सही अर्थमा जीवनलाई बुझ्ने मानिस बिहान ४ बजे उठेर दिसा पिसाब जे सम्भव हुन्छ गरेर, हात मुख कुल्ला गरेर योगासनमा बस्नुपर्छ। यो योग गर्ने तरिकाको लागि बिहान ५ बजे भारतीय टिभी च्यानलमा प्रशारण हुने रामदेव बाबाको योग पद्धति केही दिन हेरेर अभ्यास गरे आफैंँ सजिलै जान्न सकिन्छ।

यो योग क्रियाअन्तर्गत कपालभाँती अनुलोम, बिलोमसमेतका धेरै विधिहरु छन्। यसअन्तर्गत योग, ध्यान र व्यायाम सबै पर्दछ। यतिमात्र नियमित दैनिक गर्नसकेमा त्यो मानिस शारीरिक र मानसिक दुवै दृष्टिले तन्दुरुस्त हुन्छ। यसो भयो भने उ सधैं  निरोगी हुन्छ र उस्ले अरुले भन्दा राम्रोसँग सबै काम सजिलै गर्नसक्छ । यो भनेको आफैँले आफूलाई गर्ने अचुक औषधि हो । यसलाई पैसा हालेर किन्नै पर्दैन, आफैँले बिहान आधा घन्टादेखि एक घन्टासम्म जाँगर मात्र लगाए पुग्छ।

यस्तो सजिलो र सस्तो औषधि पनि हामी नगरेर रोगी हुन्छौँ, अकालैमा मर्छौं । यो भन्दा विडम्बना मानिसको जीवनमा के हुन्छ ? त्यसैले हरेक मानिसले जान्न र बुझ्नैपर्ने के हो भने जीवनभरि खुसी र सुखी रहेर जीवन सफल बनाउन बिहानै योग गर्न अनिवार्य छ। सुरुमा केही दिन गाह्रो र असजिलो लागे पनि बानी परिसकेपछि एक दिन योग गरेन भने खान मन पनि लाग्दैन र निन्द्रा पनि लाग्दैन। अनी दिनभरि के नभएको, के नभएको जस्तो असजिलो भइरहन्छ । यसरी योग गर्नु भनेको शरीर र मन दुवै चङ्गा हुने सजिलो उपाय हो।

यस सम्बन्धमा यो पंतिकारको २५ वर्षदेखिको लामो अनुभव रहेको छ। करिब ३० वर्ष पहिले मलाई मधुमेहको रोग सुरु भयो। जुनबेला मेरो उमेर ४३ वर्षको थियो र म वकालत पेसामा धेरै व्यस्त थिएँ। त्यसपछि डाक्टरको सल्लाहअनुसार मैले औषधि सेवन गर्न सुरु गरें।

त्यसपछि पनि मलाई रोगले च्याप्दै गएपछि डाक्टरकै सङ्केतअनुसार मैले भारतीय टिभी च्यानल हेरेर रामदेव बाबाले गरेको योग गर्न सुरु गरेदेखि मेरा समस्या जीउ झन्झनाउने, टाउको दुख्ने रिंगटा लाग्ने र विस्मरण हुनेसमेतका समस्या सबै ठीक भए र अहिले मेरो शारीरिक र मानसिक दुवै अवस्था २५ वर्ष पहिलेभन्दा पनि ठीक छन्। अहिले मेरो उमेर ७३ वर्षको भए पनि शरेक काम गर्न उत्तिकै सक्रिय छु र स्मरण शक्ति पनि राम्रो छ।

यसो हुनुमा म शुद्ध शाकाहारी भोजन र योग अभ्यास नै मुख्य हो। सुखी हुन पहिले खुसी हुन जरुरी छ । खुसी हुन लोभ पाप त्यागेर सकारात्मक सोच सिर्जना गर्नुपर्छ। सकारात्मक सोचले मानिसलाई सन्तोषी बनाउँछ। यसो भएपछि मानिस स्वतः परोपकारी बन्छ। यी सबैकुरा योगमैनिहीत हुन्छ। योग गर्नाले एकैपटक सजिलै पाउन सकिन्छ।

मानिस विवेक प्राणी भएकाले आफ्नो जीवन सफल पार्न हरेक मानिसले विवेक प्रयोग गर्न सक्नु पर्छ। जीवन जीउनु भनेको आफूले मात्र खानु, लाउनु हुँदै होइन। अरु मानिसलाई, समाजलाई र समग्रमा संसारलाई नै सेवा र सहयोग गरेका मानिसलाई उत्कृष्ट मानिस भनिएको छ। जीवनको यथार्थ बुझ्न आफू सबै दृष्टिले सक्षम हुन जरुरी हुन्छ। यसो हुनु योग गरेकै हुनुपर्छ। योगले शरीर र मनलाई निरोगी बनाउँछ र शान्त मन बनाएर जीवनको यथार्थ बोध हुन्छ। अनि मात्रै मानिस सँधै सकारात्मक भावले खुसी र सुखी बन्दछ।

यसरी जीवन सफल बनाउने सूत्र योगबाट फेला पार्न सकिन्छ। यही भएर विभिन्न योग गुरुहरुका योग अभ्यासका प्रयोगकर्ताले आफ्नो मात्र जीवन सफल बनाएका छैनन्, संसारभरिका मानिसको जीवनलाई योगमार्फत सही दिशाबोध गरेर जीवन सफल बनाउने सूत्र दिइरहेका छन्। जसजसले ती सूत्रहरुलाई आफ्नो जीवनमा पनि अभ्यास गरेका छन्, उनीहरुको जीवन सार्थक बनेको छ।