बलिदान होइन अब देशका लागि योगदान गरौं : मेयर बालेन्द्र शाह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अब बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने बताएका छन् ।

आज सोमबार लैनचौरस्थित शहीद स्मृति पार्कमा शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले अब देशका लागि योगदान गरेर देखाउनु पर्ने बताएका हुन् ।


शहीदहरुले भावी सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले उनीहरुको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनको भनाइ छ ।

उनले भने, ‘अमर सहिदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौँ । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु । सहिदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति नै गर्नुभयो । हामी सन्ततिहरुका लागि उहाँहरुको सुनौलो सपना थियो । आज सहिदहरुले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउन सक्यौँ भने मात्र अमर सहिदहरुको आत्माले शान्ति पाउँछ । अमर सहिदहरुको सपना साकार पार्न सबै आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सबै समक्ष यही अनुरोध छ । इतिहासको यस कालखण्डमा अब बलिदान होइन, योगदान गर्नेतर्फ हाम्रा पाइलाहरु अग्रसर हुनुपर्छ ।’