गोल्डकप आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला



झापा । नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको शुरुआती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफू चाहिँ बेवारिसे जस्तै बन्न पुगेको थियो । पञ्चायतकालमै निर्मित वरिपरिको पर्खाल हावाहुरी र भुइँचालोले भत्किएपछि मर्मत सम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिएको थिएन । दर्शक बस्न बनाइएका प्यारापिट उप्किएर र रङ खुइलिएर उराठ भइसकेका थिए ।

बेवास्ता र दूरावस्थाबाट यसरी गुज्रिरहेको रङ्गशाला फागुनको दोस्रो साता फुटबलको अन्तर्राष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएपछि काँचुली फेरिने प्रक्रियामा छ । १८ वर्षपछि आयोजना हुने भद्रपुर झापा गोल्डकप प्रतियोगिताका लागि गठित आयोजक समितिले सबैभन्दा पहिला रङगशालाको जीर्णोद्धार थालेको छ ।


झापाको साविक सदरमुकाम चन्द्रगढीको मेची रङ्गशालामा यतिबेला खेलप्रेमी र खेलाडी मात्र होइन, स्थानीय सरकारको हैसियतको रुपमा रहेको भद्रपुर नगरपालिका नै सम्पूर्णरुपमा रङ्गशालाको चमक ब्युँताउने अभियानमा जोडिएको छ । ‘कुनै बेला यो रङ्गशाला मुलुकभरिका खेलाडीले कौशल देखाउने मेची अञ्चलकै प्रमुख खेलमैदानको रुपमा चिनिएको थियो’, भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले भने, ‘हामीले त्यो इतिहासको गौरवलाई फर्काउन सबैभन्दा पहिला रङ्गशालाको मुहार फेर्ने काम गरिरहेका छौँ ।’

अध्यक्ष ढकालसहित समितिका पदाधिकारी दिनभरि रङ्गशालाको मैदानमा घाँस रोपिरहेका र प्यारापिटमा रङरोगन गरिरहेका भेटिन थालेका छन् । समितिको महासचिव रहनुभएको भद्रपुर नगरपालिकाको निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ समेत रङ्गशाला मर्मतसम्भार अभियानमा खटिने गरेका छन् ।