कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त



कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । २५ सांसदको हस्ताक्षरसहित उनले बुधबारै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

लगत्तै प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कर्णालीमा कुनै दलको स्पष्ट बहुमत नहुँदा ४ दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।


उनलाई नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीका २५ सांसदले समर्थन गरेका छन् । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदको समर्थन छ ।

माआवादी पोलिटब्युरो सदस्य रहेका शर्मा रुकुम पश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् । कर्णालीमा एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री हुने सहमति भएको छ ।