चोलेन्दविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय



काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध संसद्मा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

संघीय संसद्का महासचिव भरतराज गौतमले महाभियोग निष्क्रिय भएको भन्दै पत्र दिएपछि जबरा सर्वोच्च जान लागेका हुन् । राणाले केही दिनअघि आफूविरुद्धको महाभियोग प्रस्तावबारे सूचना मागेका थिए। त्यसको जवाफमा संघीय संसद सचिवालयका महासचिव गौतमले महाभियोग निष्क्रिय भएको पत्र दिएका थिए ।


संसद् सचिवालयबाट महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको पत्र पाएपछि राणा सर्वोच्च जान तयार भएका हुन् । पुरानो संसद्को कार्यकाल सकिएर संसद्मा नयाँ सदस्य निर्वाचित भएसँगै जबरालाई महासचिव गौतमले पत्र पठाएका हुन् ।

जबराविरुद्ध विभिन्न आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

त्यसपछि जबरामाथि लागेका विभिन्न आरोपमाथि अनुसन्धान गर्न महाभियोग सिफारिस समिति गठन भएको थियो । समितिले जबरालाई महाभियोग लगाउन सिफारिससमेत गरेको थियो ।

सिफारिस समितिका बहुमत सदस्यले राणालाई महाभियोग लगाउन सिफारिस गरेका हुन् । एमाले र लोसपाका सदस्यले निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत लेखेका थिए ।

महाभियोग सिफारिस समितिले प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनसम्म प्रतिवेदन दिन नसक्दा संसद्ले महाभियोग प्रस्ताव टुंगोमा पुर्याउन नसकेको हो ।जबराले उमेरहदका कारण यही मंसिर २७ गते अनिवार्य अवकाश पाउँदैछन् ।