खुला ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहलाई उपाधि



सिद्धार्थनगर । भैरहवामा सम्पन्न जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ ।

शनिबार लुम्बिनी राष्ट्रिय महोत्सव सञ्चालनस्थल भैरहवामा आयोजित फाइनल खेलमा विञ्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टोलीलाई पराजित गर्दै उपाधि जितेको हो ।


फाइनल खेलमा बस्नेत र पौडेलको टिमले २१–१९ र २१–१५ को सोझो सेटमा गाहा र श्रीसको टिमलाई हराउँदै उपाधि जितेको हो । उपाधिसँगै विजेता टिमले नगद १५ हजार, उपविजेताले १० हजार प्राप्त गरे ।

प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका केशव तिवारी र मदन सुवेदी तथा तामनगरकै सुभाष कर्माचार्य र रामजी न्यौपानेको टिमले तृतीय स्थान हासिल गरी नगद पाँच हजार प्राप्त गरे ।

विजयी खेलाडीलाई नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को अवसर पारेर सिद्धार्थ उद्योग वाणिज्य सङ्घले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा जिल्लाका १५ टिमको सहभागिता रहेको थियो ।