नेपाल टि–२० लिगमा काठमाडौंले जनकपुरलाई ५३ रनले हरायो



काठमाडौँ । नेपाल टि–२० लिगअन्तर्गत मंगलबार भएको हाई स्कोरिङ म्याचमा काठमाडौं नाइट्स विजयी भएको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेल काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले हराएको हो ।

प्रतियोगितामा काठमाडौंको यो दोस्रो जित हो भने जनकपुरको पहिलो हार हो । काठमाडौंले यसअघि पोखरा एभेन्जर्समाथि २६ रनको जित निकाल्दा फार वेस्ट युनाइटेडसँग ४ विकेटले पराजित भएको थियो । जनकपुरले यसअघिका दुई खेलमा पोखरा र विराटनगर सुपर किंग्समाथि समान ५ विकेटको जित निकालेको थियो।


काठमाडौंले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर अन्तिम बलमा १५५ रनमा अलआउट भयो । उसका लागि कप्तान समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाउँदा सन्दीप जोराले २६, पवन सर्राफले २४, सराफुद्दिन अश्रफले १९ र अदिल आलमले १६ रन बनाए। काडमाडौंका अज्मतुल्लाह ओमरजाइले ३ तथा बासिर अहमदले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले विस्फोटक ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २०८ रन बनायो । उसका लागि तीन विदेशी खेलाडीले विस्फोटक ब्याटिङ गरे। एलेक्स ब्लाकले ४३ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ८३ रन बनाए।

यस्तै, विरन्दीप सिंहले ३४ बलमा ७ चौका र १ छक्का मद्दतमा ४९ रन बनाउँदा ओमरजाइले १५ बमाल १ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ४३ रन बनाए। जनकपुरका पवन सर्राफले २ विकेट लिए।

प्रतियोगितामा ४ अंक जोडेको काठमाडौैं दोस्रो स्थानमा छ भने समान अंक भएपनि रनरेटमा पछि पर्दै जनकपुर तेस्रो स्थानमा छ। ३ खेलमा तीनै जित निलकोको लुम्बिनी अल स्टार शीर्ष स्थानमा छ।