लामो समयपछि रसुवागढी नाकाबाट नेपाली सामान चीन निर्यात



रसुवा । करिव तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीन निर्यात सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार मंगलबार करिब ५० लाख रुपैयाँबराबरको सामान निर्यात भएको छ । ह्यान्डीक्राफ्ट, बाँसको मुडा तथा बाँसका अन्य सामग्री निर्यात भएको भन्सारका सूचना अधिकारी भरतराज अधिकारीले बताए ।


नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नेपाली सवारी साधन चीनतर्फ जान पाएका थिएनन् । २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात भएको थिएन। सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो ।

भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको थिएन ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यू तथा अन्य स्थानमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्रीको माग उच्च छ ।

२०७६ साउनअघिसम्म दाल, घ्यू, चाउचाउ, बिष्कुट, चिउरालगायत सामग्री निर्यात भइरहेको थियो। प्रतिमहिना करिब २५ वटा गाडीले खाद्य सामग्री निर्यात गर्दै आएका थिए।