लमजुङमा देव गुरुङलाई हराउँदै एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी



लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मतले हराउँदै निर्वाचित भएका हुन् ।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत पाए भने देव गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरेका थिए । एकमात्र निर्वाचन क्षेत्र रहेको लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । तीमध्ये २ हजार ३८४ मत बदर भएको छ ।


निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बनेका थिए । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित भएका थिए ।

प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १४८ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १९२ मत खसेको थियो । कूल खसेकोमध्ये प्रतिनिधि सभातर्फ २ हजार ३८४ मत बदर भएको छ ।