मतदान महाेत्सव २०७९ : सफल रहोस आम चुनाव , भव्य रहोस मतदान



उत्तम गौडेल ।

आज मंसिर ४, २०७९ । नेपाल राष्ट्रको राजनीति र राजकीय सत्ताका परिवर्तनको सुरुवात गर्ने एक विशेष दिन । देशको बागडोर अर्थात सत्ता सञ्चालनको ताला साँचो जिम्मा लगाउन आफ्ना प्रतिनिधि छनौट गर्न जनताले आफ्नो विवेक प्रयोग गर्ने दिन । सार्वभौमसत्ता सम्पन्न जनताले मतदान मार्फत आफ्ना शासकीय अगुवा छान्ने एक ऐतिहासिक दिन । देशभरका जनताले आज गर्ने मतदानले नै देशको आगामी ५ वर्षको राजनीतिक रीतिथिति बसाल्ने छ । संविधानतः प्रत्येक ५ वर्षमा हुने अनिवार्य र नियमित कार्यसूचिको यो आम चुनाव जनताको विवेक परीक्षाको घडी पनि हो ।


मंसिर ४ को मतदान मार्फत चुनिने संघीय संसदको प्रतिनिधि सभाले आगामी संसदको स्थापना गर्नेछ । त्यही संसदले देश र जनताको आशा र अपेक्षा अनुसार आवश्यक कानुनहरुको निर्माण गर्नेछ । नयाँ संसदले नै भावी सरकार कस्को र कस्तो भन्ने पनि फैसला गर्ने छ । जनताले छान्ने अबको संसदले नै देशमा नयाँ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायत संवैधानिक अंगहरुका प्रमुखहरुको छनौट र पदस्थापन गर्नेछ । आजको मतदान मार्फत व्यक्त हुने जनजनको रोजाई, भोगाई र ठम्याईले नै आगामी ५ वर्षे नेपालको सत्ता राजनीतिको नक्शा र शासकीय प्रतिनिधिको चयन गर्ने भएका कारण पनि आजको मतदान विशेष छ । खास अर्थपूर्ण छ । यस्तै ७ प्रदेशमा प्रदेश सभा, प्रदेश सरकार र प्रदेश संरचनाका अन्य अपूर्णताहरुको पूर्णताको सुरुवाती बिन्दु पनि यही आजको मतदान हुनेछ ।

५ वर्षका एक चोटी जनता जाग्ने, जाँगरिला बन्ने, विवेकसम्मत मतदान गर्ने र बाँकी अवधि जनता चुपचाप आफ्ना प्रतिनिधिको काम हेर्ने संसारभरको प्रचलित प्रजातान्त्रिक अभ्यास हो । त्यही विश्वस्वीकृत प्रजातान्त्रिक अभ्यासकै नयाँ संस्करणको एक प्रयोग हो आजको मतदान । यो मतदान जनताको लागि जनताकै तर्फबाट जनताले गर्ने दान अर्थात अख्तियारी प्रत्यायोजन हो । यसर्थ, यो मतदानमा मतदाता नामावलीमा समावेश सबैले हर्षोल्लासका साथ भाग लिनु पर्छ । सबैले भोट दिनु पर्छ । भोट हर मतदाताको अधिकार हो । यसको सही र तार्किक प्रयोग गर्नैपर्छ । यो अह्म जिम्मेवारीबाट कोही पनि मतदाता छुटनु हुन्न, दोहोरिनु हुन्न ।

आम चुनाव भन्ने बित्तिकै यो राजनीतिक दलहरुका लागि सत्तामा पुग्ने राजनीतिक दौड हो, खेल हो । यसमा मतदातालाई संभव, असंभव, हुने नहुने आशा र सपनाका पुलिन्दा बाँडेर बहुमत जनताको मन र विश्वास जित्न हरसंभव प्रयाश गर्नु राजनीतिक दलका नेता र नेतृत्वको जोडबल रहनु स्वभाविक हो । जनताका घर, आँगन र दैलो दैलो आएर दलका प्रतिनिधि उम्मेदवार हुन वा स्वतन्त्र उम्मेदवारहरुले दिएका आश्वासन, बाँडेका सपना र गरेका हर वाचाहरुप्रति आम मतदाताले गंभिरतापूर्वक आत्मासमीक्षा, विश्लेषण र विचार मन्थन गरी आफ्नो मत खेर नजाने गरी मतको सदुपयोग गर्न चुक्नु हुदैन ।

जनतालाई सत्ता प्राप्तीको हतियार मात्र बनाउने, चुनावका बेला मात्र जनता गुहार्ने, सत्तामा गएपछि जनता बिर्सने र भ्रष्टाचार अनि कमाउ धन्दामा मात्र लाग्ने कुनै पनि दल वा नेतालाई जनताले निर्मम भएर दण्डित गर्नुपर्छ । त्यसका लागि सही दल र ईमान्दार उम्मेदवारलाई मत दिनु पर्छ । हर मतदाताले आफ्नो मतको मूल्य र महत्वलाई गहिरोसंग मनन गर्दै मतदान मार्फत सदुपयोग गर्नैपर्छ ।

भनाई नै छ नी मौकामा हिरा फोड्नु । हो, यो जनताले सही निर्णय लिने र राष्ट्र अनि आफ्नै आगामी ५ वर्षे भविष्य, भाग्य र भाष्य निर्माण गर्ने उन्नत मौका नै हो आजको मतदान । यो मतदान एक औपचारिकता मात्र होईन, भुलभुलैयामा पर्न नुहने सुनौलो मौका नै हो । यो मौकामा हर मतदाता न्यायधिशको भूमिकामा हुनुहुन्छ । सबैले सही निर्णय क्षमता प्रमाणित गर्नुपर्छ । त्यसैले एक्स्क्लुसिभ न्यूज टाईम डटकम समस्त देशभरका मतदातालाई आआफ्नो निर्वाचन क्षेत्रबाट मतदान गर्न आव्हान गर्दछ ।

मतदानदेखि मतगणनासम्मका सबै समाचारहरु सक्दो छिटो, तथ्यपरक र प्रमाणिकतासहित पस्कन एक्स्क्लुसिभ न्यूज टाईमले कुनै कसर बाँकी नराखी अनवरत मेहनेत गर्नेछ । यसका लागि अनलाईन पोर्टल एक्स्क्लुसिभ न्यूज टाईम डट कमका अलवा फेसवुक, ट्वीटर, युटुव लगायतका सामाजिक संजालमा पनि जोडिन हामी नेपालभर र संसारभर छरिएर रहनु भएका पाठक, दर्शक तथा शुभेच्छुक र समर्थकहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

सकेसम्म त्रुटीरहित रुपमा जस्ताको त्यस्तै चुनावी मतपरिणामको अपडेटको तपाईहरुको सारथि इक्स्क्लुसिभ न्यूज टाईम भैरहने प्रण र प्रतिज्ञा दोहोरयाउदै पुनः मतदानको कार्यभार पुरा गर्न सम्वद्ध सबैमा हार्दिक अपिल गर्दछौं । सफल रहोस आम चुनाव २०७९, भव्य रहोस मतदान मंसिर ४ । सबैको भलो होस, सबैको जय होस । जय देश, जय जनता ।