ट्वीटरपछि ठूलो संख्यामा कर्मचारी कटौती गर्दै मेटा



एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरपछि अब मेटाले पनि ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । मेटाले यसै साताको अन्त्यसम्म धेरै कर्मचारीहरुलाई हटाउने योजना बनाएको न्यूयोर्क टाइम्सको एक रिपोर्टमा उल्लेख छ ।

यद्यपी कति मानिसलाई बाहिर निकाल्ने भन्ने यकिन संख्या अझै स्पष्ट छैन । प्रतिवेदनका अनुसार यो साताको अन्त्यसम्ममा कर्मचारीहरू हटाउने काम सुरु हुनेछ । यो सन् २००४ मा यसको स्थापनापछि कम्पनीको सबैभन्दा ठूलो कटौती हुनसक्ने बुझिएको छ ।


सेप्टेम्बर २०२२ को अन्त्यसम्म मेटामा ८७,३१४ कर्मचारीहरू कार्यरत छन् । मेटाले हाल व्हाट्सएप, इन्स्टाग्राम र फेसबुकसहित विश्वका केही ठूला सामाजिक मिडिया प्लेटफर्महरूको स्वामित्व राखेको छ । यद्यपि, कम्पनीले मेटाभर्समा आफ्नो खर्च बढाउँदैछ ।

मेटाभर्स एक भर्चुअल संसार हो जहाँ प्रयोगकर्ताहरूले आफ्नै अवतारहरू सिर्जना गर्न सक्छन्। न्यून ग्रहण दर र महँगो अनुसन्धान तथा विकासका कारण कम्पनीले घाटा बेहोर्दै आएको छ । यसबाट केही हदसम्म आर्थिक संकट कम हुने अपेक्षा गरिएको छ ।