सबै पालिकाका गतिविधिको निगरानी सिसिटिभीबाट



जाजरकोट । सदरमुकामसहित सबै पालिकाका मुकामबाटै सिसिटिभी क्यामराद्वारा निगरानी सुरु गर्न लागिएको छ । भेरी नगरपालिकाकाे सदरमुकाममा तीन वर्षदेखि बिग्रिएका क्यामरा मर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।  

पालिकाको सहकार्यमा प्रहरीले सबै पालिकाको मुकाममा सिसिटिभी क्यामरा जडान गर्न लागेको उनले बताए । शान्तिसुरक्षा तथा अनुसन्धानलाई प्रभावकारी बनाउन  क्यामरा जडान गर्नुपरेको उनले बताए ।


शिवालय गाउँपालिकाको सहयोगमा छेडाबजारमा, नलगाड नगरपालिकाको सहयोगमा दल्लीमा, कुशे गाउँपालिकाको सहयोगमा भाम्रमा, छेडागाडको सहयोगमा मनघाट तथा बारेकोटको बारेकोटमा र जुनिचाँदेको सहयोगमा त्यहाँको मुकाममा सिसिटिभी जडान गर्न थालिएको  हो । मुख्यमुख्य नाकामा भने सिसिटिभीबाट निगरानी गर्न थालिएको छ ।

भिडभाड हुने ठाउँमा विभिन्न आपराधिक घटना हुने भएकाले  सिसिटिभीको सहयोग लिनुपरेको बताइएको छ ।