सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश



काठमाडौँ । किशोरी बलात्कार अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।


काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको जानकारी दिए ।

लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले पक्षबाट बहस गरेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय मागदाबी गरेको थियो ।

अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर करणी गरेको भन्दै किशोरीका तर्फबाट भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।