रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा



काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुपन्देही–२ मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङले उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ मा परेको छ ।

उक्त रिट निवेदन न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । यसअघि अदालतले गुरुङको उम्मेदवारी यथास्थितिमा राख्न अल्पकालिन आदेश दिएको थियो । आज अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।


नेकपा एकीकृत समाजवादी पार्टीका गुरुङले सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवारी दर्ता गराए पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।