सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ



काठमाडाैँ । बलात्कारको आरोप लागेका  नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको ‘क्युटिआर सिक्स फोर अट’ नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित ​पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ  थिए ।


सन्दीपले यसअघि सामाजिक सञ्जालमार्फत नेपाल फर्किएर आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी पनि दिएका थिए ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।