वीरगञ्ज नाकाबाट इन्धन आयात १७ प्रतिशतले कमी



वीरगञ्ज । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ । 

गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार करोड ४३ लाख मूल्यको २ लाख २७ हजार पाँच सय ३६ किलोलिटर इन्धन आयात भएको थियो । चालू आवको सोही अवधिमा ९ अर्ब २० करोड ७३ लाख रूपैयाँको १ लाख ९० हजार ९ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । 


गत आवको तुलनामा चालु आवको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको उनले बताए । खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ । 

गत आवको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट १० अर्ब १३ करोड रूपैयाँको १ लाख ४८ हजार ४ सय ६०  किलोलिटर डिजेल, ४ अर्ब ६३ करोड रूपैयाँको ६२ हजार सात सय ३२ किलोलिटर पेट्रोल, १ अर्ब ९८ लाख रूपैयाँकाे १५ हजार ३ सय ६४ किलोलिटर हवाई इन्धन, ७ करोड ७४ लाख रूपैयाँको ९ सय ८० किलोलिटर मट्टितेल र ४ अर्ब १९ करोड रूपैयाँको ४३ हजार  ६  सय २४ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ । 

चालु आवको सोही अवधिमा रु १३ अर्ब ९५ करोड मूल्यको १ लाख ७ हजार ४ सय ६ किलोलिटर डिजेल, ७ अर्ब ५३ लाख रूपैयाँको ६२ हजार सात सय ६० किलोलिटर  पेट्रोल, २ अर्ब ४२ करोड मूल्यको १८ हजार नौ सय ८० किलोलिटर हवाई इन्धन,  १२ करोड १५ लाख रूपैयाँको ८ सय ८० किलोलिटर मट्टितेल र ५अर्ब ७४ मूल्यको ४२ हजार ५ सय ६२ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाकाबाट इन्धनको आयात घटे पनि त्यसबाट सङ्कलित हुने राजश्व भने दुई प्रतिशतले बढेको छ । गत आवको पहिलो दुई महिनामा ९ अर्ब ६६ करोड ९६ लाख रूपैयाँ राजश्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा रु १६ करोड ७२ लाख बढी अर्थात् ९ अर्ब ८३ करोड ६९ लाख रूपैयाँ राजश्व संकलन भएको छ ।