निरन्तर परेको वर्षाले वर्षाले धान बालीमा क्षति



नेपालगञ्ज । केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । 

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार छ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए ।


त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डुबाएको छ । ‘अझै सबै स्थानीय तहको विस्तृत विवरण आएको छैन त्यसैले धान खेतीमा भएको क्षति बढ्न सक्छ’, ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले भने ।