गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराए ।


गृहमन्त्री खाणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे । 

सो अवसरमा उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।