दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, चुनाव चिह्न पनि आजै दिइने



काठमाडौँ । आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले आज नाम फिर्ता लिन सक्नेछन् ।

बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।


उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले बुधबार अपराह्न १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उम्मेवारी परेको आयोगले जनाएको छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो । सोही दिन बेलुका आयोगले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेको थियो ।