विपन्नको उपचारका लागि प्रवासीको रु ४० लाख सहयोग



म्याग्दी । हङकङमा रहेका म्याग्देलीले विपन्नको उपचारमा सघाउन ४० लाख रुपैयाँ सहयोग गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २०औँ साधारणसभाका अवसरमा संकलन भएको ४० लाख ११ हजार १ सय ११ रुपैयाँ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराइएको हो ।


मोना हङकङका अध्यक्ष कर्ण पुनले मंगलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरे । मोनाले हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवीप्रकोपमा राहतस्वरुप करिब ३ करोड सहयोग गरिसकेको अध्यक्ष पुनले बताए ।

कोषका महासचिव लोकबहादुर पुनले २०७१ सालमा स्थापना भएको संस्थाले गरिब बिरामीको उपचारमा सहयोग गर्दै आएको बताए । हालसम्म २ सय ६५ जनाको उपचारमा सघाएको पुनको भनाइ छ ।