तीन दशकपछि कँडेल-शाक्य आमनेसामने



कर्णाली । विसं २०४९ मा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा प्रमुख पदमा उम्मेदवार बनेका थिए, नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले) का यामलाल कँडेल । निर्वाचनमा शाक्यलाई पराजित गर्दै कँडेल वीरेन्द्रनगरको प्रमुख पदमा विजयी भए ।

तीन दशकअघि प्रतिस्पर्धा गरेका शाक्य र कँडेल मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा पुनः आमनेसामने हुने भएका छन् । सुर्खेत क्षेत्र नं २ प्रदेशसभा (क) बाट आइतबार उम्मेदवारी मनोनयन गरेका कांग्रेसका शाक्यलाई सत्तारूढ गठबन्धनअन्तर्गतका नेकपा (एकीकृत समाजवादी) बाहेकका दलको समर्थन छ भने एमालेका कँडेललाई आफ्नै पार्टीको मात्र ।


कँडेल–शाक्यसँगै उक्त पदमा एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय, राप्रपाका सूर्यबहादुर खत्रीसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् । एमाले नेता कँडेल मुख्यमन्त्री बन्ने योजनासहित २०७४ को निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बनेका थिए । तत्कालीन बाम गठबन्धनको सहयोगमा पाँच हजारभन्दा बढी मतान्तरले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गर्दै उनी विजयी भएका थिए ।

यसपटक पनि प्रदेशसभामा दोहोरिन खोजेका कँडेललाई चुनौतीको भारी बन्नुभएको छ, गठबन्धनका शाक्य । गठबन्धनको बलमा आफूले चुनाव जित्ने शाक्य बताउँछन् । “मेरो उम्मेदवारीबाट सिङ्गो पार्टी पङ्क्ति र गठबन्धन उत्साही छ”, उनले भने, “सङ्गठन मजबुत र गठबन्धन दलको सहयोग मेरो जित्ने आधार हो ।” कांग्रेसका पूर्वजिल्ला उपसभापति, पटक–पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएका शाक्य जिल्ला समन्वय समिति संयोजक बन्ने योजनासहित २०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर–९ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए । तर पराजित भए ।

एमालेका कँडेल हाल पार्टीको कर्णाली प्रदेश इन्चार्ज र स्थायी कमिटी सदस्य हुन् । विसं २०५१ मध्यावधि र २०७४ को संविधानसभा निर्वाचनमा विजयी बने भने २०५६ को संसदीय र २०७० को संविधानसभा निर्वाचनमा कांगे्रसका हृदयराम थानीसँग पराजित भए ।

विद्यार्थी राजनीतिदेखि नै थानी–कँडेलको प्रतिस्पर्धामा भने विसं २०७४ देखि विश्राम लागेको छ । त्यसयता कँडेल प्रदेशसभा र थानी प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दै आएका छन् । एमाले उम्मेदवार कँडेलले प्रदेशसभाको पहिलो कार्यकालले उल्लेख्य काम गर्न नसकेकाले पुनः प्रदेशसभाकै उम्मेदवार बनेको बताउँदै भन्छन्, “केन्द्र, प्रदेश जहाँ भए पनि सङ्घीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने हो ।”