सभामुख र उपसभामुखलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता



काठमाडौँ । सभामुख र उपसभामुख पदमुक्त हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बिहीबार अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलालले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

रिटमा संविधानको धारा ९१ को उपधारा ६ अनुसार प्रतिनिधिसभाको लागि हुने निर्वाचनको उमेदवारी दाखिल गरेको अघिल्लो दिनसम्म पद बहाल रहने व्यवस्था रहेको हुँदा सभामुख र उपसभामुखको पद खाली गराउन परमादेश माग गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फका उमेदवारको नाम असोज २ गते दर्ता गरिसकेका छन् ।


समानुपातिकतर्फका उमेदवारको नाम दर्ता भइसकेको हुँदा संविधानको धारा ९१ बमोजिम सभामुख र उपसभामुखको कार्यकाल समाप्त भएको रिट निवेदनमा दाबी गरिएको छ । रिटको पेसी भोलि शुक्रबारका लागि तोकिएको छ ।