श्रीलङ्काले ‘क्रेन अपरेटर’मा थप महिला भर्ती गर्ने



श्रीलङ्काले ‘क्रेन अपरेटर’मा थप महिला भर्ती गर्ने बताएको छ । श्रीलङ्काका बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डी सिल्भाले बन्दरगाहमा काम गर्न थप क्रेन अपरेटर भर्ती गर्न सरकारले अग्रसरता लिने बताएका हुन् ।

बन्दरगाह, पानीजहाज र उड्डयनसम्बन्धी मन्त्रीस्तरीय परामर्श समितिको पहिलो बैठकमा उनले धेरै देशमा महिलाले बन्दरगाहमा क्रेन अपरेटरका रूपमा काम गर्ने गरेको बताउँदै आफ्नो देशमा पनि यसलाई थप प्रोत्साहन गरिने उल्लेख गरे । “श्रीलङ्कामा थोरै मात्र महिला क्रेन अपरेटर छन् । हामीले चाँडै नै थप भर्ती गर्न आवश्यक छ,”उनले भने ।


उनले श्रीलङ्का बन्दरगाह प्राधिकरणको सञ्चालन विस्तार गर्न र दक्षता बढाउन पनि अधिकारीहरूलाई निर्देशन दिए । “कोलम्बो एसियाको सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक हो, तर पूर्वाधारमा धेरै पैसा खर्च गरिरहेका अन्य देशसँग प्रतिस्पर्धा गर्ने हो भने हामीले विस्तार गर्न आवश्यक छ,” उनले बताए ।