डेङ्गुको सङ्क्रमण फैलिन नदिन पूर्व तयारीमा स्थानीय तह



भजनी । कैलालीका बाढी पीडित क्षेत्रमा डेङ्गुको सङ्क्रमण फैलन नदिन स्थानीय तहले पूर्वतयारी थालेका छन् । अविरल वर्षापछि आएको बाढीका कारण ठाउँठाउँमा पानी जमेपछि लाम्खुट्टेले लार्भा पार्न सक्ने र त्यसले महामारी फैलिन लिन सक्ने भन्दै स्थानीय तहले पूर्वतयारीको काम थालेका हुन् ।

कैलालीको जानकी गाउँपालिकाले वडाध्यक्षको नेतृत्वमा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने काम थालेको छ । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बाढिपछिको चुनौती डेङ्गु बन्न सक्ने खतरा बढेको बताउँदै त्यसको निराकरणका लागि पूर्वतयारी अपनाइएको बताए ।


“बाढीका कारण विस्थापित भएका सयौँ परिवार एकैसाथ बस्नुपर्ने बाध्यता र असुरक्षित बसोबासका कारण डेङ्गुको जोखिम निकै बढी छ ।’’ उनले भने, “हामीले लामखुट्टे खोज तथा नष्ट अभियान चलाएका छौँ । डेङ्गु परीक्षण कीट खरिदको प्रक्रिया अगाडि बढाएका छौँ र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छौँ ।”

अध्यक्ष चौधरीले डेङ्गुको लक्षण देखिएका शङ्कास्पद बिरामीका लागि विशेष उपचार तथा समन्वयको तयारी भइरहेको बताए । उता जोशीपुर गाउँपालिकामा पनि डेङ्ग्ुका सङ्क्रमित बढ्दै जाँदा बाढी र डुवानका कारण सङ्क्रमण झन फैलिनसक्ने भएकाले निराकरणका लागि यसलाई प्राथमिकतामा राखिएको त्यहाँको गाउँपालिकका अध्यक्ष चित्रबहादुर चौधरीले बताए ।

“एकातिर बाढी विस्थापितलाई राहत र उद्धारको काम त छदैछ, अर्कोतिर डेङ्गुले महामारीको रुप लिन्छ कि भन्ने त्रास पनि । “अध्यक्ष चौधरीले भने, “त्यसका लागि नागरिकलाई सचेत गराउने र जनचेतना फैलाउने काम गाउँपालिकाले थालेको छ ।” उनले गाउँघरमा पानी जमेका खाल्डाखुल्डी पुर्ने, झारपात मास्ने तथा विषादी छर्ने कामसमेत गर्दै आएको बताउँदै स्वास्थ्यकर्मीको व्यवस्थापनलाई तयारी अवस्थामा राखिएको बताए ।

बाढीबाट सबैभन्दा बढी पीडित भजनी नगरपालिकामा पनि डेङ्गुकोे जोखिम झन उच्च रहेको छ । यतिबेला सयौँ परिवार सामूहिकरुपमा बस्दै आएका कारण डेङ्गुको सङ्क्रमण उच्च रहेको हो । “अहिलेको अवस्थामा डेङ्गुु फैलियो भने स्थिति निकै भयावह हुनसक्छ ।” स्थानीयवासी सुरेन्द्र चौधरीले भने, “यहाँका बासिन्दा घर छोडेर सामूहिक बसाइँमा छन् । एक जनालाई डेङ्गुु देखिएपछि नगरपालिकालाई त्यसको रोकथाम तथा नियन्त्रण गर्न निकै चुनौती हुनसक्छ ।”नगरपालिकाले भने सङ्क्रमण फैलिन नदिन विशेष सावधानी अपनाएको स्वस्थ्य शाखा प्रमुख कैलाली चौधरीले बताए ।

“पानी कम हुने वित्तिकै लामखुट्टे नष्ट पर्ने औषधि छर्ने कामलाई निरन्तरता दिने तयारीमा छौँ भने अहिले पनि विस्थापित बसेका आश्रयस्थलमा स्वास्थ्यकर्मी पुगेर परीक्षणको काम भइरहेको छ ।“स्वस्थ्य शाखा प्रमुख चौधरीले भने, “अधिकांश बिरामीलाई ज्वरो आएपछि डेङ्गु परीक्षण गर्नुपर्ने भएकाले परीक्षण कीटको अभाव देखिएको छ ।“ उनले नगरपालिकाले थप कीट खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेको बताउँदै पूर्वतयारीका साथ स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको जानकारी दिए ।

स्वस्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बाढिपछि डेङ्गुको सङ्क्रमणको जोखिम उच्च रहेको बताए । उनले सङ्क्रमणको जोखिम बढेको र पालिकालाईसमेत सचेत गराइएको बताउँदै अन्य नियमनकारी निकायसँग पनि समन्वयसमेत हुँदै आएको छ भने । “रेडक्रससँग आवश्यक झुल माग गरेका छौँ । मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयसँगसमेत समन्वय भएको छ ।“प्रमुख धामीले भने, “हामी निकै सचेत छौँ ।

परीक्षणका लागि कीटको अभाव भन्ने छ, त्यसका लागि सामाजिक विकास मन्त्रालयलाई जानकारी गराइसकेका छौँ । ” स्वस्थ्य प्रमुख धामीका अनुसार डेङ्गुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ । त्यसपछि विस्तारै घट्दै जान्छ । दुई–तीन वर्ष अघिदेखि मात्रै डेङ्गुको सङ्क्रमणबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । डेङ्गु ज्वरो भाइरसका कारण लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार छैन ।

अस्पताल पुगेका बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ । एडिस एजिप्टी र एडिस एल्वोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट डेङ्गु सार्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टे बस्ने गमला, फूलदानी, कुलर, टायरलगायतको पानीमा लार्भा बस्ने भएकाले समय–समयमा पानी फाल्ने गर्नुपर्दछ । गमलाको प्लेट, फूलदानी, कुलर र टायरमा जम्मा भएको पानी कम्तीमा हप्तामा एक पटक फेर्ने, पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझबिहान घरबाहिर जाँदा लामखुट्टले नटोकोस् भनेर सावधानी अपनाउनु पर्ने जिल्ला स्वस्थ्य कार्यालयका प्रमुख धामी बताउछन् ।