टुकुचा उत्खनन अभियान जारी रहने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । सोमबार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन जारी राखेको हो ।

टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए ।


उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए । आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो । यद्यपी महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया अघि बढाएको छ ।