सप्तकोसी बाढी प्रभावितका लागि राहत सहयोगको आह्वान



काठमाडौँ । सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फेर्यो । हजारौँ घर परिवार प्रभावित भए । झण्डै आठ हजार हेक्टरमा नदी पसेको छ ।

स्थानीय पालिका, प्रशासन कार्यालय सुरक्षाकर्मी तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार बढी परिवारको फसेको स्थानबाट उद्धार गरेको छ । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले प्रभावितका लागि विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण गरी व्यवस्थापन गरिएको जानकारी दिए ।


उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आफूहरु अहिले पनि फिल्डमा खटिएर अनुगमन गरी प्रभावितका लागि आवश्यक व्यवस्थापनमा जुटेको बताए । उनका अनुसार अहिले बहाव कम भएकाले व्यवस्थापनमा केही सहज भएको पनि जानकारी दिए ।

सप्तकोसीको भङ्गालो पसेर प्रभावित भएका हजारौँ स्थानीयवासीका लागि राहत सहयोग गर्न सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई आह्वान पनि गरिएको छ । उनीहरुका लागि अस्थायी आश्रयस्थल निर्माण, राहत तथा खाद्यान्न र टेन्टलगायतका अत्यावश्यक सामग्री आवश्यक भएकाले विभिन्न निकायलाई सहयोगका लागि आह्वान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

राहत सङ्कलन र वितरणलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्नेगरी आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ । बुधबार सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा उक्त नगरपालिकाका १, २, ३, ८ र ९ वडाका करिब दुई हजार घरपरिवार प्रभावित भएका थिए । उनीहरुमध्ये एक हजार परिवारलाई उद्धार गरिएको थियो भने अन्य स्थानीयवासी आफैँ घर छाडेर सुरक्षित स्थानमा पुगेका थिए ।

उक्त क्षेत्रमा हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित करिब एक हजार घरपरिवारको उद्धार गरी सुरक्षितस्थलमा सारिएको पनि उनले जानकारी दिए । उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी रहेको पनि उनले बताए ।

प्राधिकरणको समन्वयमा बेलायत सरकार र केयर नेपालले विस्थापितका लागि खाद्यान्न खरिद गर्न छ लाख तथा सरसफाइका सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीका लागि ११ लाख राष्ट्रिय किसान समूह महासङ्घमार्फत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्राधिकरणले जानकारी दिएको छ ।

बेलकाका नगर प्रमुख कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाबीचको आकस्मिक बैठकले बेलका र बराहक्षेत्र नगरपालिकाका नगर–प्रमुखको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइट, वडाध्यक्षलगायत आवश्यतानुसार पदाधिकारी सहभागी हुने गरी खोज, उद्धार, पुनःस्थापना तथा विपद् व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले नदीले पुर्याएको तथा पुर्याउन सक्ने थप क्षति आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय पनि गरेको छ । सप्तरीका सप्तकोसी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने वडाका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।

विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण

प्रभावितका लागि बेलका–९ धौरीमा पाँच सय घरपरिवार, ८ का एकता, चिलिया र दुर्गामन्दिर टोलमा पाँच सय घरपरिवार, वडा नं ३ बुधबारे, गणना र शुक्रबारेमा पाँच सय परिवारका लागि आश्रयस्थल बनाइएको छ ।

यस्तै बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्त, भागलपुरमा आठ सय घरधुरीका लागि आश्रयस्थल बनाइएको छ ।

आवश्यकताअनुसार वडा नं १ को पुरन्दह, वडा नं ८ को डुडखोला सामुदायिक भवन, वडा नं ९ र ३ को खसीबोका सङ्कलन केन्द्र, खानेपानी, क्याम्पस, मचुवाबजार, आदिवासी–जनजाति भवन, सोही वडाकै गलफडिया विद्यालय वडा नं २ को रेडक्रस भवन र जनता माविमा सुरक्षित आश्रयस्थल तयार पारिएको छ ।

राहत सामग्री एकद्वार प्रणालीबाट सङ्कलन गरी एकद्वार प्रणालीबाटै वितरण गर्ने निर्णय गरेअनुसार राहत सङ्कलन थालिएको बेलका नगरपालिकाले जनाएको छ । राहत वितरण गर्दा उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा निजले तोकेका अधिकृत, दुवै नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने भएको छ ।

त्यहाँ नेपाल रेडक्रस सोसाइटीले एक सय थान त्रिपाल, एक थान रवरबोट, छ थान हेल्मेट उपलब्ध गराएको छ भने खाद्यान्न खरिदमा ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेकाले मानवीय क्षति हुनसक्ने भएकाले जिल्ला तथा स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थलतर्फ जान अनुरोध पनि गरेको छ । उदयपुरको उक्त क्षेत्रमा विसं २०४५ अघि कोसी बग्ने गरेको थियो । त्यस बेलाको भूकम्पपछि भने नदीले धार परिवर्तन गरेर अन्यत्र मोडिएपछि सो क्षेत्रमा बस्ती बसेको हो ।

कोसी ३४ वर्ष पनि त्यही बस्ती सोझ्याउँदै आफ्नो धार परिवर्तन गरेका कारण स्थायी बसोबास गरेका परिवारका झण्डै २० हजार मानिस प्रभावित भएका जनाइएको छ । बाढी बस्तीमा पसेसँगै त्यहाँ प्रदूषणका कारण रोगव्याधी फैलनसक्ने तथा खाद्यान्नको अभाव हुनसक्ने भएकाले आवश्यक व्यवस्थापन थालिएको प्राधिकरणले जनाएको छ ।