मेयर बालेनले भने जस्तै अब बस्ती विकासको लागि नक्शा पासको अधिकार अदालतलाई दिनुपर्‍यो 



स्वतन्त्र उम्मेद्धवारका रुपमा देशकै राजधानी शहर काठमाण्डौंको महानगरपिता बनेपछि बालेन शाहको सुरक्षा दस्ताले सडकमा मकै पोल्ने भूईमान्छेको मकै र साईकल लुटे । धन्न आफ्नो जिल्लाका किसान परेका कारण काँग्रेसका नेता मोहन बहादुर बस्नेतले लुटिएको मकै र साईकलको सोधभर्ना गरिदिए । ती मकै पोल्ने किसानका पक्षमा न्यायलय बोल्ने कुरै भएन । किन भने आफ्नो खुल्ला आकाशमुनी गरिखाने अधिकार रक्षा गरी पाउँ भनी ती मकै पोल्ने दम्पति अदालत जान सक्दैन्थे । गएन्न, पनि न्याय माग्न । माग्न नजानेलाई न्याय दिनु न्यायलयको कामै होईन ।

एक पूर्व खेलाडीले सिटी सेन्टरको परिसरमा चलाएको गाढा पसल पनि महानगरका सुरक्षाकर्मीले हटाई दिए । उल्टै राष्ट्रिय स्तरका गरिखाने पूर्व खेलाडीलाई प्रहरी थुनामा पनि धकेलिदिए । ती पूर्व खेलाडीको पीडा कसैलाई दुखेन । सिटी सेन्टरसंग महानगरका सुरक्षा अधिकारीले के के संम्झौता गरे, त्यो दैवले जानुन । तर भाडा उठाउनेलाई नो कारवाही तर, भाडा तिर्नेको उठिवासै भयो । प्रहरी कारवाहीमा पर्नु पर्यो ।


त्यसपछि महानगरका मेयर साह वानेश्वर लगायत सडक क्षेत्रमा सडक पेटीको व्यापार उठाउन हुलहुज्जत गरेर फिल्मी शैलीमा खटिए । यसले सडक पेटीका कैयन व्यापारी वल्लो घाट न पल्लोतिरका भएका छन । उनीहरु अन्यायमा परे की उनीहरुमाथिको महानगरको कारवाही गलत थियो भन्ने सवाल बहसकै विषय छ । यस्ता धेरै प्रसंगहरु छन ।

तर साउन २५ गते न्यायलयले देशकै शक्तिशाली उद्योगी विनोद चौधरीको अस्पतालका अवैध घर टहरा नभत्काउन अन्तरिम आदेश जारी गरयो । एक दिन अघि महानगरपिता साहले सरकारी र सार्वजनिक जग्गा मिचेर नर्भिक अस्पतालले बनाएका टहरा हटाउन २४ घण्टे अल्टिमेटमा दिएका थिए । २४ घण्टे अल्टिमेटम धोती लगाएर अदालतमा रिट दायर गर्न पुगेको नर्भिकका पक्षमा न्यायलयले निवेदन पर्नासाथ अन्तरिम आदेश फर्माईदियो । २४ घण्टा त परको कुरा, एकाध घण्टाका वीचमा नै अदालतले आदेश फर्मायो नर्भिकका पक्षमा ।

देशकै शक्तिशाली उद्योगीले चलाएको अस्पताल, देशकै महँगो र भईमान्छेले टाढाबाट आखाँ तन्काएर मात्र हेर्न सक्ने अस्पतालका अवैध टहरा जोगाउन अदालत नै रक्षाकवच बनेर उभियो । अब महानगरपिता मेयर साहको २४ घण्टे अल्टिमेटम पनि फेल भयो ।

यसको प्रतिक्रिया मेयर शाहले नक्सा पास गर्ने महानगरको अधिकार अब अदालतमा सानुपर्ने भन्दै सामाजिक संजालमा कटाक्ष गरेका छन । यसका लागि संविधान संसोधन गर्न मेयर साहले माग गरेका छन । यो कटाक्ष मेयरको नोकझोक प्रतिक्रिया शिवाय केही हुनेवाला छैन । उल्टो अदालतको मानहानी गरेको भन्दै मेयर विरुद्ध नै मुद्धा परिहालेमा त्यो आश्चर्य नहुन सक्छ । तर, साँच्चो रुपमा यस प्रकरणबाट देशको न्यायलय वा राज्यका अन्य अंगहरु कसले चलाएका छन भन्ने ठुलो संसार चियाउन एउटा काफी उदाहरण नै हो ।

लोक जान्दछ, पहिले पहिले उग्र राजभक्त चौधरी ग्रुपका नेता विनोद चौधरी अघिल्लो कार्यकालमा एमालेका माननीय थिए । अहिलेको संसदमा उनी काँग्रेसका साँसद छन । झण्डै झण्डै मन्त्री बन्न पनि भ्याएका थिए, तर उमेश श्रेष्ठहरु भन्दा अग्रधावक बन्न भने चुके ।

राज्यका निकायहरुमा चौधरी ग्रुपको कति दबदबा छ भन्ने उदाहरण अर्थमन्त्री जर्नादन शर्माको राजीनामा र पुर्ननियुक्तिको प्रसंगले छर्लंग पारिसकेकै हो । बजेट बनाउदा करका दरहरु निश्चित व्यापािरक घरानाको पक्षमा हेरफेर गर्न चौधरी ग्रुपको मान्छेले बजेट बनाउनु आखिरी दिनहरुमा अर्थमन्त्रालयमा अड्डा जमाएको तथ्य ओपन सेक्रेट हो । तर यो तथ्य संसदीय छानबिन समितिले पनि पुष्टि गर्न सकेन । सकोस पनि कसरी रु पूर्व एमाले थिए विनोद चौधरी । संसदीय छानविन समितिको सदस्यमा एमालेका माननीयहरु पनि थिए । त्यसैले संसदीय समितिमा मुख्य विपक्षी एमालेका माननीयहरुले पनि करका दरमा हेरफेर गराउने चौधरी ग्रुपका कोही पनि मान्छे चिन्न, भेटन सकेन्न । प्रविधिको यो चरम विकास भएको बेलामा सिसिटिभी फुटेज त झन भेटने कुरै थिएन ।

चाैधरी ग्रुपको बदलामा यहाँ कुनै भईमान्छेको यस्तो हर्कत गरेको भए के हालत हुन्थ्यो? यो त जो कोहीले सहजै अनुमान गर्न सक्छ । तर यहाँ अदालत बोल्छ, केवल चौधरीहरुका पक्षमा । अर्थमन्त्रालयको गेट रातबिरात खुल्छ केवल चौधरी ग्रुपका एजेन्टहरुका लागि । किन भने यहाँ देश चलाउने चौधरीहरु नै हुन । विनोद चौधरी जस्ता दलबदल गरिरहने र माननीय भैरहने चौधरीहरु नै हुन देश बनाउने । देश बनाउने र चलाउनेहरुलाई नै न्यायलयले साथ दिनुपर्छ ।

त्यसैले यसपटक काठमाण्डौंका मेयर शाहले भने जस्तै, अब शहर बनाउने, बस्ती विकासको लागि अब नक्शा पासको अधिकार संविधान बदलेरै भए पनि अदालतलाई नै दिनु पर्यो । किन भने न्यायलयले चौधरी ग्रुपलाई नै ईन्साफ दिइरहने झन्झटै उठाउन पर्दैन नी त । बरु, अब सबैले चौधरी ग्रुप जस्ता बलिया उद्यमीहरुका हर क्रियाकलापको समर्थन गरौं । विरोध त गर्दै नगरौं । आरती उतारौं , जय गान गाऔं । भलो चिताउ । बाँकी देश बनाउने जिम्मा त चौधरीहरुले फत्ते लर्गान नी नगर्लान र ?