भारतका नवनिर्वाचित उपराष्ट्रपतिद्धारा सपथग्रहण



भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखरले भारतको १४औँ उपराष्ट्रपतिका रुपमा सपथ खाएका छन् । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ खुवाएका हुन्।

गत अगस्ट ६ मा भएको निर्वाचनबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी निर्वाचित भएको घोषणा भने अगस्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गरेका थिए । उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठवन्धनको समर्थन पाएका उम्मेदवार मार्गरेट अल्भाले प्रतिश्पर्धा गरेका थिए ।


भारतको संघीय संसदमा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भालाई १८२ मत परेको थियो । यसरी हेर्दा उपराष्ट्रपतिम निर्वाचित धनखरले ७४.३६ प्रतिशत बराबरको मत प्राप्त गर्नु भएको देखिएको छ । सन् १९९७ पछिका ६ उपराष्ट्रपति मध्ये उनले नै सबैभन्दा धेरै मत ल्याएका हुन् ।

उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने थिए । ती मध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए । खसेको मत मध्ये पनि १५ मत रद्ध भएको थियो । उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले अत्यधिक धेरै ५२८ मत पाउन सफल भएका हुन् ।

उनको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको हो । उनले विद्यालय तहको शिक्षा छत्तिसगढ स्थित सैनिक विद्यालयबाट पुरा गरेका थिए । उनले उच्च शिक्षामा भने भौतिक शास्त्र र कानुन शास्त्र अध्ययन गरेका थिए ।