प्रधानन्यायाधीशमाथिको महाभियोग सौदाबाजी होः महासचिव पोखरेल



विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँचदलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा महासचिव पोखरेलले यो सरकार लामो समयसम्म रहँदा देशलाई श्रीलंकाको बाटोतर्फ लैजाने चिन्ता प्रकट गरे ।उनले भने,‘यो सरकार स्वार्थका लागि मात्र बनेको हो, यो सरकार बन्दै गर्दा मुलुकको आर्थिक अवस्था वचतमा रहेको तर अहिले खर्बौ ऋणमा पुगेको छ ।’


‘महंगी दोब्बरभन्दा बढी बृद्धि भएको छ । पूँजीगत खर्च लज्जास्पद छ । जसले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको छ । बजेट निर्माणका क्रममा जे जस्ता हर्कत भएका कुराहरू बाहिर आए, त्यो एकप्रकारको राष्ट्रघात हो । यसले माफियातन्त्रलाई अझ भनौं दलाल नोकरशाही पुँजीवादलाई प्रश्रय गरेको देखिन्छ’ उनले भने ।

दुनियाँमा कहीँ पनि गठबन्धनले समृद्धि ल्याएको छैन भन्दै उनले विकासको लागि नीतिगत नेतृत्व चाहिने बताए । उनले भने, ‘नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै छ । कांग्रेसले त नीतिगत नेतृत्व नै गुमाइसकेको छ, गठबन्धन त स्वार्थका लागि मात्र बनेको हो ।’

‘वर्तमान सरकारका हरेक गतिविधि नेपाली जनताको लागि अभिशाप बनेका छन्, यसलाई जतिसक्दो चाँडो हटाउनुपर्छ । निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनबाटै जनताले छिनोफानो गर्छन्,’महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलले चुनावको मिति घोषणा भएपछि संसदको भूमिका निष्कृय हुने भए पनि सङ्कटको बेला काम लाग्छ भनेर जोगाएर राखेको बताए ।

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग राम्रो नियतले नलगाइएको भन्दै उनले यसको छिनोफानोमा सत्तापक्षको व्यवहार चरम लापरवाहीपूर्ण रहेको बताए ।

‘फैसलाहरू स्वार्थमा आधारित, लेनदेनमा आधारित भयो भन्ने अर्थमा प्रधानन्यायाधीश माथि महाअभियोग लगाइयो । त्यो त सौदाबाजी हो । त्यसमा त दुई पक्ष हुन्छ ।’ महासचिव पोखरेलले भने,‘ त्यस अर्थमा दोषी एउटा मात्र हुँदैन । प्रधानमन्त्री निर्दाेष हुने प्रधानन्यायाधीश मात्र दोषी हुने हुँदैन । एउटालाई दोषी देखाएर अर्को पानीमाथिको ओभानो बन्ने गठबन्धनका नेताहरूको प्रयास गलत हो ।’